कटवाल, खड्का हटाउन माओवादी-एमाले सहमतिनजिक

29 04 2009

काठमाडौं, वैशाख १५-
सत्ता प्रमुख एकीकृत नेकपा माओवादीले प्रधानसेनापति रुक्मांगत कटवाललाई कार्वाही गर्ने विषयलाई मुख्य विषय बनाएर एमालेसँग सहमति अघि बढाएको छ। एमालेले प्रधानसेनापति कटवाल सहित रथी कुलबहादुर खड्का, रक्षामन्त्री रामबहादुर थापा समेतलाई कार्वाही गर्न अघि सारेको प्रस्तावभित्रै रहेर निर्णय लिने तयारीमा माओवादी पुगेको छ। रक्षामन्त्री थापालाई राजीनामा गराउनेमा सहमति नभए पनि कटवालपछि प्रधानसेनापति को हुने भन्ने विषयलाई माओवादीले थाती राखेको छ।

‘बुधबारसम्म जसरी पनि प्रधानसेनापतिलाई कार्वाही गर्नुपर्छ भन्ने विषय अहिले प्रधान हो। हामी यो विषयबाट पछि हट्दैनौं’ माओवादी वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले नागरिकसँग भने ‘त्यसपछि कसलाई प्रधानसेनापति बनाउने विषय गौण बनेको छ। क्रमागत जो छ उसलाई नै बनाउने हो।’

माओवादी कटवाललाई कार्वाही गरी कुलबहादुर खडकालाई प्रधानसेनापति बनाउने तयारीमा लागेको थियो। कार्वाही सहमतिका आधारमा गर्ने भनी एक सातादेखि एमाले र माओवादी अनिर्णयको बन्दी बनेका छन्।

सम्भवतः बुधबार बस्ने नियमित मन्त्रिपरिषद् बैठकअघि कटवाललाई कारबाही गर्ने र एमालेले विकल्पका रुपमा अघि सारेका छत्रमानसिंह गुरुङलाई प्रधानसेनापति बनाउने प्रस्तावमा एमाले र माओवादी सहमतिमा आउनेछ।

‘हामीले राष्ट्र विभाजित नहोस् भनेर प्रस्तावअघि सारेका हौं। यसमा सबै लचिलो हुनुको विकल्प छैन’ एमाले महासचिव ईश्वर पोखरेलले भने। को प्रधानसेनापति बन्ने भन्ने विषय प्राविधिक भएकाले त्यसलाई सहमतिका आधारमा टुंगो लगाउने उनले बताए।

सहमतिका लागि बुधबार बिहान ८ बजे एमालेको आह्वानमा पार्टी संसदीय दल कार्यालय सिंहदरबारमा माओवादी कांग्रेस सहितको तीन दलीय संयुक्त बैठक बस्दैछ ।

एमालेको निर्णयमा सहमति नभई राष्ट्रिय सहमतिका लागि पार्टीले पहल गरेको पोखरेलले बताए। ‘मूल सहमतिका लागि यो कदम लिइएको हो। एमालेले हाम्रो धारणा लागू भयो भनेर उफ्रिने छैन पोखरेलले भने ।

‘माओवादीको ‘फेस सेभिङ’का लागि यो उपयुक्त अवसर हो। माओवादीले अहिले प्रधानसेनापति को बनाउनेमा भन्दा कार्वाही गर्ने विषयमा ध्यान दिएको छ’ एमालेका एक स्थायी कमिटी सदस्यले भने।

तीन दलबीच भेटघाट तीव्र

रक्षामन्त्री थापा, प्रधानसेनापति कटवाल र रथी खडकालाई हटाउने र नयाँ प्रधानसेनापतिको रुपमा तेस्रो वरियताका छत्रमानिसंह गुरुङलाई प्रधानसेनापति बनाउने प्रस्ताव एमालेले बिहान माओवादी र मध्याह्न कांग्रेस नेतृत्व समक्ष राखेको थियो।

एमाले अध्यक्ष झलनाथ खनाल नेतृत्वको टोलीले मंगलबार बिहान माओवादी पुष्पकमल दाहाल र दिउँसो काग्रेस उपसभापति रामचन्द्र पौडेल नेतृत्वको टोलीसँग आफ्नो प्रस्ताव राखेको थियो।

भेटघाटपछि पौडेलले प्रधानसेनापति हटाउने निर्णय कांग्रेसलाई मान्य नहुने जिकिर गरे। सत्तारुढ एमालेले लिने निर्णय प्रभावकारी हुने भएकाले विवेकपूर्ण निर्णय गर्न एमालेलाई सुझाव दिएको पौडेलले बताए। ‘कटवाललाई हटाए माओवादीकरण हुन्छ । हटाउने कुरा कुनै पनि हालतमा स्वीकार्य हुँदैन’ पौडेलले भने ।

महासचिव पोखरेलले एमाले प्रस्ताव पूर्णरुपमा अस्वीकृत भइनसकेको बताए। छलफलमा करिब पाँच मिनेट मात्र बसेका कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले ‘झिनामसिना कुरामा विवाद गर्नको सट्टा वृहत् विषयमा ध्यान दिनु माओवादीलाई आग्रह गरेका थिए। करिब डेढ घण्टा लामो छलफलपछि कोइराला निवासबाट निस्केका प्रधानमन्त्री दाहालले एक/दुई दिनमै सहमति गरेर विवाद टुंगोमा पुर्‍याइने बताएका थिए ।

‘नागरिक सर्वोच्चता लोकतन्त्र र शान्तिका लागि सहमतिका साथ अगाडि बढ्ने कुरा भएको छ’ प्रधानमन्त्री दाहालले संचारकर्मीसँग भने ‘सहमतिको नजिक पुगेका छौं। हरेक विषय सहमतिमा नै टुंगिन्छ।’

कटवालको सुनाइ

प्रधानसेनापति रुक्मांगत कटवालको उमेरसम्बन्धी सर्वोच्चमा परेको रिटको सुनाईसँगै सेनाका आठ जनरललाई अवकास दिने निर्णय तत्काल कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेश बदर गर्ने/नगर्ने विषय प्रभावित बनेको छ ।

कटवाल माओवादी सरकारबाट हटाइनुभन्दा अदालतको निर्णयबाट पद त्याग्ने मनस्थितिमा रहेका छन्। उमेरसम्बन्धी रिटको सुनुवाइ आगामी २३ गते हुने भएकाले आठ जर्नेलको सुनुवाइमा ढिलाइ भएको स्रोतले बतायो।

कटवालको उमेरका हकमा राजाको हुकुम प्रमांगीमा घटाइएकाले उमेर नाघेको दावी रिटमा परेको छ। गत वर्ष जेठ १५ गते गणतन्त्र घोषणा हुँदा राजाका हैसियतले जारी आदेशहरु, प्रयोग गरेका सुविधा, हैसियत र प्रचलन सबै अमान्य हुनेछन् भनी घोषणा गरिएको तथ्य रिटमा प्रस्तुत गरिएको छ।

अदालतले त्यही घोषणाको नजिरलाई आधार मानेर कटवालको उमेर बढी देखिनेछ। अदालतमा पेश गरिएका शैक्षिक प्रमाणपत्रमा चार वर्ष उमेर घटेको देखाइएको स्रोतले बतायो।


Actions

Information

Leave a comment