तत्स्थानमा काव्य रचना गरेर सुनाउने अभियान, ‘अक्षरयात्रा’को स्वर्ण श्रृङ्खलामा दिन लेखनाथको सुन्दरीडाँडा पुग्दा पत्रकार प्रशान्त लामिछानेले एउटा जिज्ञासा राखे, ‘पोखरामा हप्तैपिच्छे साहित्यिक कार्यक्रम हुन्छन, कविता गीत, गजलका मात्रै हुन्छन्, तर कथा नाटक निबन्ध, उपन्यासका कार्यक्रम किन हुँदैनन ?’ उनको जिज्ञासालाई कवि सञ्जिव पौडेलले अत्यन्त हल्का ढंगमा उत्तर दिए, ‘सुनाउन नमिल्ने भएर ।’ उनको उत्तर सुनेपछि कविद्वय अल्पज्ञानी र कपिल शर्मा ‘सञ्जोग’ हाँसे । पौडेलको उत्तर आफ्नो ठाउँमा सही होला तर उनको उत्तरले भने एउटा अर्को गहिरो प्रश्न उव्जाईदियो, ‘के काव्य रचना गरेर सुनाउनु मात्रै पोखराको साहित्य विकासको द्योतक हो त ?’
पोखराका धेरै साहित्यकारहरु भन्छन्, ‘पक्कै पनि होईन, आख्यान समेतको विकास नभएसम्म साहित्यको विकास भएको मानिन्न ।’
उनीहरु यसो भनिरहँदा पोखराको आख्यान साहित्य शुुुन्य भएकोतर्फ भने कसैले सोचेकै छैनन भन्दा पनि हुन्छ । पोखरामा आख्यान ओरालोतिर गएको कसैलाई पत्तै छैन । कुनैबेला साहित्यकार सरुभक्तले पोखराको वागवजारको कोठमा बसेर धेरै आख्यानहरु नेपाली साहित्यलाई दिए पोखराको तर्फबाट, नाटक उपन्यास लगायतका धेरै पुस्तकले नेपाली साहित्यको भण्डार भरेका सरुभक्त अहिले आख्यानतिर सुस्ताएका छन् ।
त्यस्तै अर्का पोखरेली नाटककार कृष्ण उदासी तीनवटा नाटक सँग्रह दिएर आख्यानबाट पलायन भएर गीत गजलतिर भौतारिएका छन् । आख्यानबाट टाढिएको उनी स्वयम पनि स्विकार गर्छन् ।
पोखराका अर्का कथाकार घनश्याम ढकालले पनि अहिले आख्यानतिर त्यति ध्यान दिएको पाईन्न । प्रगतिवादी कथाहरुमा नेपाली साहित्यमा छुट्टै छाप छोडेका कथाकार ढकालले केही समय अघि एउटा ठुलो आकारको समालोचनाको पुस्तक निकाले, त्यसपछि उनी पनि गुमानाम छन् । समालोचना साहित्यमा विषेशज्ञता हासिल गरेका डा. रविलाल अधिकारीले पनि विद्यावारिधी मात्रै गरे नेपाली साहित्यलाई उल्लेखनीय कृति दिन सकेनन् । त्यस्तै निबन्धकार कुलप्रसाद खनाल पनि फुटकर निबन्धमा अल्मलिएर बसिरहेका छन् ।
निबन्धकार छवि सुवेदी, उपन्यासकार विद्याविमल बराल लगायतका स्रष्टाहरु पनि झुलुक्क उदाएर अनि आख्यान मात्रै होईन सिर्जनाबाटै अहिलेसम्म गायब भएका छन् । समग्रमा भन्दा पोखरामा अहिले आख्यान साहित्य मृत प्रायः छ ।
पोखराको आख्यान साहित्य किन यसरी ओरालो लाग्यो त ? साहित्यकार सरुभक्त भन्छन, ‘आख्यान सिर्जनाको लागि गहन अध्ययन चाहिन्छ, कडा साधना चाहिन्छ तर यो पोखरामा छैन ।’ स्वाट्ट कविता लेखेर सुनाएर हिँड्ने प्रबृत्तिले पोखराको आख्यानलाई नराम्ररी थिचेको उनको अनुभव छ । उनी स्वयम पनि आख्यानलाई कम गरेर संरक्षण कविता आन्दोलनलाई लिएर हिँडेका सर्जक हुन् । केही वर्ष अघिदेखि उनको जोड गजल सँग्रह प्रकाशित गर्नेमा छ । उनको यो जोडको आलोचना गर्नेहरु पनि छन् । उनका आलोचकहरु भन्छन्, ‘पागल वस्ती लेखेपछि सरुभक्तमा त्यही स्तरको कृति दिन सक्ने आँट आएन र काव्यतिर जोड दिन थाले ।’
त्यसो त पोखरामा आख्यान लेखकहरुको सँख्या पनि कम छ, हातको औंलामा गन्न सकिने आख्यानकारहरु पोखरामा छन् । सरुभक्तले भने पोखरामा मात्रै नभई नेपालमै आख्यान साहित्यकारहरु थोरै भएको सुनाए । ‘यो जटिल बिधा एवम सीप र सौन्दर्य बढी चाहिने भएकाले आख्यानकाहरु थोरै नै छन् ।’ उनले भने । उनको बुझाईमा आदिकवि भानुभक्तको पालादेखि नै नेपालमा कविहरुको सँख्या बढी थियो ।
विज्ञानलाई विषय बनाएर साहित्य सिर्जना गर्न पोख्त माएिका सरुभक्तले अहिले ‘अन्नपूर्ण पिथेकस’ शीर्षकको बालकथा लेख्न लागेको जानकारी दिए । उनले लेखेको ‘पागल बस्ती’ उपन्यासले मदन पुरस्कार पनि प्राप्त गरेको थियो ।
पोखराका अर्का नाटककार कृष्ण उदासी पनि मुख्यतया साधना गर्न नसकेका कारण पोखराका साहित्यकारहरु आख्यानमा जम्न नसकेको सुनाउँछन् । त्यसो त ‘अन्तिम सँहार’, ‘अग्नीकुण्ड’ र ‘युद्ध पिरामीड’ शीर्षकका गतिला तीनवटा नाटक सँग्रह केही फुटकर कथाहरु प्रकाशित गरेका उदासीको ‘युद्ध पिरामिड’ शिर्षकको नाटकसँग्रहले धौलागिरीमा चर्चित काजी रोशन पुरस्कार समेत प्राप्त गरेको थियो ।
‘मुख्यत ः समय र साधनाको कारणले पोखरामा आख्यानको विकास हुन सकेको छैन ।’ उनले अन्नपूर्ण पोष्टसँग भने, ‘पोखराको सिँगो साहित्यको विकासको लागि आख्यानको विकास हुनु समेत जरुरी छ ।’
उनको बुझाईमा व्यक्तिगत कुण्ठा पोख्नेहरुको भीड भएका कारण पोखरामा आख्यानको विकास हुन नसकेको हो । हुन पनि पछिल्लो समयमा पोखरामा आख्यानको एउटा पनि कृति जन्मेको छैन । यो अवस्थाप्रति पोखराका साहित्यकारहरुमा चिन्ता बढेको पनि पाईंदैन ।
गीत र गजलबाट आख्यानतिर लागेको दावी गर्ने अर्का साहित्यकार हुन प्रकट पँगेनी शिव, उनले दुई वर्ष अघि ‘पोखरा भित्रको पोखरा’ शीर्षकमा एउटा आख्यानमुलक पुस्तक लेख्ने घोषणा गरेका थिए । तर उनको उक्त पुस्तको के कति प्रगति भएको छ भन्ने बारेमा केही जानकारी छैन । उनका अनुसार नाम नजुरेको कथासँग्रह र ‘सिम्रिकाको डायरी’ शीर्षकको उपन्यास तयार हुँदैछन् ।
उनी भने पोखरामा आख्यानको विकास हुन नसक्नुलाई समयले जन्माउने कुरा भन्छन् । समय नभएकाले पोखरामा आख्यान साहित्यको विकास हुन नसकेको उनको विश्लेषण छ । यसका साथै उनले पोखरालाई मुख्यत ः काव्यिक थलो भएकाले पनि आख्यानको विकास हुन नसकेको बताए । उनको बिचारमा अबको एक दई वर्षमा पोखरामा आख्यानको बाढी आउनेछ ।
अहिलेसम्म आख्यानमा हात नहालेका गजलकार कमल पौडेल अथक पोखरामा आख्यानको विकास नहुनुलाई साहित्यकारमा अध्यननको अभाव रहेको बताउँछन् । अध्यनको कमीका कारण सजिलो विधातिर हात हाल्ने धेरै भएको उनको निष्कर्ष छ, त्यस्तै लेखेर बाँच्न नसक्ने अवस्था र प्रकाशकको अभावका कारण पनि पोखरामा आख्यान साहित्यको विकास हुन नसकेको उनले बुझेका छन् । ‘किताब किन्ने भन्दा मदिरा खानेहरु धेरै भएको ठाउँमा कसरी आख्यानको विकास हुन्छ ?’ उनले प्रश्न गरे ।
जसले जे भने पनि साहित्यकार कृष्ण उदासीले भनेजस्तै पोखराको सिँगो साहित्यको विकास हुनको लागि आख्यानको समेत विकास हुनु अति जरुरी छ, त्यसैले ‘काव्यको माध्यमबाट आधा घण्टामा व्यक्तिगत कुण्ठा पोख्ने’ भन्दा, वर्षमा एउटा भएपनि गतिलो काव्य कृति पोखराको तर्फबाट नेपाली साहित्यलाई दिन जरुरी छ, आफुलाई वरिष्ठ साहित्यकारको रुपमा मञ्चमा बोलाईदिए हुँदोहो भन्ने कल्पना गर्नेहरुले यतातिर पनि सोच्ने की ?